नियम २२५
सदस्यको पक्राउ सम्बन्धी जानकारी तथा अन्य विषय
(१) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा अध्यक्षले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ । (२) उपनियम (१) बमोजिमको सूचना बैठक नचलेको अवस्थामा प्राप्त भएमा अध्यक्षले सचिवालयको सूचनापाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक जानकारी गराउनेछ । (३) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई कुनै फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्य प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजले सदस्यको हैसियतमा कार्य गर्न वा अधिकार प्रयोग गर्न वा उन्मुक्ती पाउने छैन र सो अवधिभर निजको पारिश्रमिक सेवा तथा सुविधा समेत स्थगित हुनेछ । (४) कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।